इन्डोनेसियामा ज्वालामुखी विस्फोट, गाइडको समझदारीले जोगियो दर्जनौंको ज्यान

aakashbani.com

काठमाण्डौ- इन्डोनेसियामा भएको खतरनाक ज्वालामुखी विस्फोटका क्रममा एक गाइडको तत्कालको समझदारीले धेरै पदयात्रीको ज्यान जोगिएको छ। आतंकित भई ओरालो दौडिरहेका हाइकरहरूलाई रोकेर गाइडले उकालोतर्फ जान निर्देशन दिएका थिए, र यही निर्णय उनीहरूका लागि सबैभन्दा सुरक्षित सावित भयो।

गत अप्रिल ६ तारिख इन्डोनेसियाको माउन्ट डुकोनो ज्वालामुखी नजिक केही पदयात्रीहरू ट्रेकिङ गरिरहेका थिए। उक्त ज्वालामुखी देशकै सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक मानिन्छ। अचानक ज्वालामुखी विस्फोट हुँदा केही सेकेन्डमै खरानी र भग्नावशेषको विशाल मुस्लो आकाशतिर उड्यो।

विज्ञहरूका अनुसार ज्वालामुखी क्षेत्रमा ओरालो लाग्नु सधैं सुरक्षित हुँदैन। खरानी, विषाक्त ग्यास र तीव्र गतिमा बग्ने भग्नावशेष प्रायः भिरालो हुँदै तलतिर तीव्र रूपमा फैलिन्छन्। यस्तो अवस्थामा तल भाग्नु झन् खतरनाक हुन सक्छ।

गाइडले सबैलाई यथास्थानमा रोकिन र उच्च स्थानमै रहन आग्रह गरेका थिए। यसबाट पदयात्रीहरू प्रत्यक्ष रूपमा खरानीको मुस्लो र भग्नावशेषको बाटोमा पर्नबाट जोगिए। साथै, एकै ठाउँमा रोकिँदा उनीहरू दूषित हावा र कम दृश्यताको अवस्थामा बाटो बिराएर अलपत्र पर्नबाट पनि बचेका थिए। 

केही व्यक्ति यसअघि नै चेतावनीलाई बेवास्ता गरी क्रेटर नजिक पुगिसकेको बताइएको छ। तर, गाइडको सूझबुझले ठूलो दुर्घटना टरेको छ।

प्रतिक्रिया